झापा, असोज २२ । सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ । त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार राति जारी गरेको प्रेस विज्ञप्तिमा छ,‘इजरायलबाट स्वदेश फर्कन ईच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भईरहेको छ।’ तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सम्पर्क विवरणहरु उपलब्ध गराईएकोले उनीहरु मार्फतआवश्यक जानकारी लिन र सम्पर्कमा रहन मन्त्रालयले अनुरोध गरेको छ

१० मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भईसकेको मन्त्रालयले जनाएको छ। ‘पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएको, एक जना सम्पर्कविहीन रहेको र केही घाईते अवस्थामा रहेको पुष्टि भएको छ। मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको छ’ विज्ञप्तिमा भनिएको छ,‘मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाईतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भईसकेको छ।’ हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाई मार्गमार्फत् आवतजावत सुचारू भइरहेको जानकारीसमेत प्राप्त भएको उल्लेख छ ।
इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बसेको बैठकले परराष्ट्रमन्त्रीको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन गरेको छ । उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकहरुको संरक्षण र उद्दार गर्न आवश्यक पहल गरिरहेको छ।‘यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ।द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीहरुको यथाशिघ्र उद्दार गर्न नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको छ’ मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्