झापा , असोज २२ । भद्रपुर र मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ ५.१० बजे भद्रपुर नगरपालिका– ५ स्थित मेची पुलबाट ब्राउनसुगरसहित बिर्तामोड नगरपालिका– ३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार राजवंशीलाई मेची पुलमा खटिएको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले रोकेर चेकजाँच गरेको थियो । प्रहरीले उनको शरीर चेकजाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याएको १ ग्राम २३० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ६ बजे मेचीनगर– ६ स्थित मेची पुल नजिकैबाट इलाम नगरपालिका– ९ गोलबस्ती निवासी १८ वर्षीय रोहण खवासलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको खवासलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा मलद्वारभित्र लुकाएर ल्याएको ४ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्