विनोद सापकोटा
झापा, असोज २२ । काठमाडौंबाट यात्रु लिएर काँकरभिट्टातर्फ आईरहेको हायसका सहचालकमाथि खुकुरी प्रहार भएको छ ।

रक्ताम्य हायस

झापाको कमल गाउँपालिकास्थित केर्खाको बस बिसौनीमा अज्ञात व्यक्तिले सहचालक सिन्धुली गोलन्जोर गाउँपालिका ४ बस्ने २१ वर्षिय माधव पौडेलमाथि खुकुरी प्रहार गरेर सख्त घाइते बनाएको प्रहरीले जनाएको छ । यात्रु ओराल्न रोकिएको बेला सहचालकमाथि एक्कासी खुकुरी प्रहार भएको हायसका चालकले बताएका छन्। चालक भने सुरक्षित छन् ।

बा ४ ख २९६५ नम्बरको उक्त हायसका घाइते कर्मचारी पौडेलको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको झिलझिलेस्थित लालीगुराँस हेल्थ केयर सेन्टरका स्वास्थ्यकर्मीले बताएका छन् । घाँटी र डढेल्नोमा गहिरो चोट लागेका सहचालक पौडेलको लालीगुराँस हेल्थ केयर सेन्टर झिलझिलेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बीएण्डसी अस्पताल रेफर गरिएको सेन्टरले जनाएको छ ।

काठमाडौंबाट झापाको केर्खासम्म आएका पुरुष यात्रुले हायसका सहचालक पौडेलसंग दिउँसोदेखि नै विवाद गरिरहेका थिए । उनैले साथी बोलाएर सहचालकमाथि धारिलो हतियारले आक्रमण गरेको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी केर्खा र इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले आक्रमणकारीको खोजी कार्य शुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्