गौरीगंज ,असोज २३ । राजवंशी समाज विकास समिति गौरीगंजको आज बसेको बृहत भेलाले केन्द्रीय समितिको विषयमा उत्पन्न विवाद समाधानका लागि वार्ता समिति गठन गरेको छ ।

गोपालप्रसाद राजवंशीको अध्यक्षतामा केन्द्रीय भवनको सभाहलमा बसेको बृृहत बैठकले केन्द्रीय समितिको विवादलाई मिलाउन दुवै पक्षसंग वार्ता गरी एकताको सन्देश दिन राजवंशी समाज विकास समितिका पूर्व केन्द्रीय सल्लाहकार देवीप्रसाद राजवंशीको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिको सदस्यहरुमा गोपालप्रसाद राजवंशी, आत्माराम राजवंशी, तिलकप्रसाद राजवंशी र पर्वत राजवंशी रहेका छन् ।

राजवंशी समाज विकास समितिको नाममा राजवंशीहरु दुईवटा समूहमा विभाजित भएपछि त्यसको असर समुदाय स्तरमा परेको छ । राजवंशी समाज विकास समिति केन्द्रीय समितिको कटहरीमा आयोजित अधिवेशनमा उत्पन्न विवादले राजवंशी समाज विकास समिति दुई चिरामा विभाजित हुन पुगेको हो । एउटै संस्थामाथि दुईवटा समूहले दावी गर्दै आएका छन् । आधिकारिक रुपमा एउटा समूहले राजवंशी समाज विकास समितिको केन्द्रीय अध्यक्ष सुवन्त राजवंशी हुन् भनी दावी गर्दै आएको छ भने अर्को समूहले आधिकारिक रुपमा अभय राजवंशी केन्द्रीय अध्यक्ष हुन् भनी दावी गर्दै आएको छ ।

आधिकारिकताको विवाद जिल्ला प्रशासन कार्यालय झापामा पुगेको थियो । झापा प्रशासनले त्यस विवादलाई मिलाउन नसकेपछि अहिले अदालतमा विचाराधिन रहेको छ । फैसला अदालतबाट नआएपछि कानुनीरुपमा कुन समितिलाई मान्यता दिने भन्ने समाजमा अन्यौल भएको छ ।

हालै बिर्तामोड र कन्काईमा अलग अलग आयोजित राजवंशी समाज विकास समिति झापाको आठौ जिल्ला अधिवेशनबाट दुई वटा समिति गठन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्