झापा, असोज २४ ।साइकलको सिटमुनिको फलामे पाइपभित्र लुकाइछिपाई ब्राउनसुगर ल्याउने चार जना भद्रपुरबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–२ हिमाली निवासी १९ वर्षीय निसान लिम्बू, सोही ठाउँका २४ वर्षीय रिवज रनपहेली, दमक नगरपालिका– १ निवासी रुस्बिन लिम्बु भनिने विवेक फियाक लिम्बु र दमक– २ का निश्चल भन्ने विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

हिजो साँझ ५.४५ बजेको समयमा भद्रपुर ३ स्थित मेची झोलुङ्गे पुलमा प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका निसान र रिवजलाई रोकेर चेकजाँच गर्दा उनीहरुले लागूपदार्थ सेबन गरेको जस्तो देखिएको थियो । दुवैलाई अनुसन्धान गर्दा दमक वडा नं. १ बस्ने रुस्बिनले साइकल बुझ्न आएकोले शंका लागेर उक्त साइकललाई चेकजाँच गर्दा साईकलको सिटमुनि सिट स्टेण्ड फलामभित्र लुकाई छिपाई राखेको १४ ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

थप अनुसन्धान गर्दा उनीहरुको साथी निश्चलसमेत संलग्न रहेको भनि खुलेपछि खोजतलास गर्ने क्रममा उनलाई भद्रपुर बजारमा फेला पारिएको थियो । चारै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डीएसपी रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्