झापा, असोज २६ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको निर्णय आज लिइने भएको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको निर्णय आज लिने भएको हो।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा आज अपरान्ह ५ बजेसम्मको छ। प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी गरेका छन्।
नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। काठमाडौंमा बिहीबार बसेको गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। गठबन्धनको निर्णयविपरीत पार्टीको संस्थापनइतर र नेकपा (एमाले)का प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले पनि मुख्यमन्त्री दाबी गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठले दुई जनाको दाबी पेस भएका कारण मुख्यमन्त्री नियुक्तिको निर्णय हिजो गर्न नसकिएको बताए। ‘दुई जनाले दाबी पेस गरेका कारण आज निर्णय लिने कुरा प्रदेश प्रमुखज्यूले गर्नु भएको छ,’ उनले भने, ‘आज ५ बजेसम्मको समय भएकाले निर्णय गर्ने म्याद सकिँदैन।’

कोशीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ। कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्। कांग्रेस संसदीय दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्कीसमेत उनकै पक्षमा खुलेका छन्। त्यसो हुँदा कार्की कोशीको मुख्यमन्त्री बन्ने देखिएको छ।

आङ्बोले पनि गठबन्धनका ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका हुन्। तर, कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यहरुले सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित भएर आफूहरुको हस्ताक्षर सनाखत गराएका छन्। उनीहरूले आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्