झापा, असोज २६ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् ।

कार्की आफ्ना पक्षमा हस्ताक्षर गरेर समर्थन दिएका ४७ प्रदेश सांसदसहित प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालयमा पुगेका हुन् । कार्कीले एमालेको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले दाबी पेशका लागि शुक्रबार साँझ ५ बजेसम्मको लागि दिएको समय सकिएको छ । प्रदेश प्रमुख खापुङले दाबी पेस गर्ने समय सकिएपछि निर्णय लिने बताउँदै आएका छन् । कार्कीले पार्टी निर्णयविपरीत मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनबाट भने माओवादीका सांसद इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।
कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ सदस्य छन् ।

उता कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जम्मा भएका छन् । कोशी प्रदेशको मुख्यमन्त्री चयनका सम्बन्धमा पार्टीभित्रै विवाद देखिएपछि त्यसबारे छलफल गर्न देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
यसअघि सभापति देउवाले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटार पुगेर छलफल गरेका थिए । कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनबाट कोशी प्रदेशमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भए पनि प्रदेशसभाका ८ सदस्यले पार्टीको निर्णय मानेका छैनन् ।
प्रदेशमा मुख्यमन्त्री नियुक्तिको घडी आइरहेका बेला पार्टीभित्र लागेको विद्रोहको आगो निभाउन कांग्रेस नेताहरू छलफलमा जुटेका छन् ।

कोशीमा पार्टीको निर्णयविरुद्ध मुख्यमन्त्री दाबी गर्ने कार्कीसहित ८ सांसद नेता शेखर कोइरालानिकट हुन् । ‘भर्खरै सभापतिजीले प्रधानमन्त्रीजीसँग छलफल गरेर आउनुभयो । अब हामी जम्मा भयौँ । छलफल सुरू हुदैछ,’ एक नेताले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्