एजेन्सी । बंगलादेशलाई ८ विकेटले हराउँदै न्यूजिल्यान्डले आइसिसी एकदिवसीय विश्वकपमा आफ्नो अपराजित यात्रालाई लगातार तेस्रो खेलसम्म पनि कायम राखेको छ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको न्यूजिल्यान्ड शीर्ष स्थानमा उक्लिएको छ। पराजयसँगै समान खेलबाट २ अंकका साथ बंगलादेश छैटौं स्थानमा छ।

चेन्नईस्थित चिदम्बर क्रिकेट रंगशालामा बंगलादेशले दिएकोे २ सय ४६ रनको लक्ष्य न्यूजिल्यान्डले ४२ दशमलव ५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।

न्यूजिल्यान्डका लागि ड्यारिल मिचेलले ६७ बलमा ६ चौका र ४ छक्काको मद्दतले अविजित रहँदै सर्वाधिक ८८ रनको योगदान दिए । यसैगरी ७८ रनमा रिटायर्ड हर्ट हुनुअघि कप्तान केन विलियमसनले १ सय ७ बलमा ८ चौका र १ छक्का प्रहार गरे। डिभोन कोन्वले ४५ र ग्लेन फिलिप्सले अविजित १६ रन बनाए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमान र कप्तान साकिब अल हसनले समान १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४५ रन बनायो।
बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ६६ रनको योगदान दिए । यसैगरी महमुदुल्लाहले अविजित ४१, कप्तान साकिब अल हसनले ४०, महेदी हसन मिराजले ३०, तस्किन अहमदले १७ र तान्जिद हसनले १६ रन बनाए।

न्यूजिल्यान्डका लागि लोकी फर्गुसनले ३, ट्रेन्ट बोल्ट र म्याट हेनरीले समान २ तथा मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले समान १ विकेट लिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्