झापा, असोज २७ । असोज २५ गते झापाको अर्जनुधारामा एमाले नेता महेश बस्नेतको कार्यक्रम बिथोल्न गएका पहिचानवादी र दुर्गा प्रसाईका समर्थकहरुले मिलेर गाडी तोडफोड गरेको देखिएपनि अहिले दोष एक अर्कामाथि लगाउन थालेका छन् ।

पहिचानवादीहरुले दुर्गा प्रसाईका समर्थकहरुले सवारीसाधनमाथि ढुंगामुढा गरेको बताइरहँदा बीएण्डसी हस्पिटलका संचालक प्रसाईले त्यसलाई इन्कार गरी दोष जति पहिचानवादीहरुमाथि थुपार्न खोजिरहेका छन् । तोडफोडमा संलग्न बिक्रम लिम्बू पक्राउ पर्नु र उनी बीएण्डसी हस्पिटलका क्यान्टिन संचालक भएको खुल्नुले एमालेनिकट युवा संघले तोडफोडमा बीएण्डसीका संचालक प्रसाईकै संलग्नता रहेको किटान गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको छ । तर, त्यो उजुरी प्रहरीले दर्ता गरिसकेको छैन । आफूहरुले तोडफोड भएका गाडीहरुको विवरणसहित दुर्गा प्रसाईविरुद्ध किटानी जाहेरी दिएको युवा संघका केन्द्रीय सदस्य राज आङदम्बेले बताए । शुक्रवार जाहेरी लिएर गएकोमा कार्यालय विदा भइसकेका कारण दर्ता गराउन नसकेको भन्दै उनले सोमवार जाहेरी दर्ता हुनेमा आफूहरु आश्वस्त रहेको बताए । सो दिन अर्जुनधारामा २१ वटा सवारीसाधनमा तोडफोड भएको थियो । १३ वटा चारचक्के र ८ वटा दुई चक्के सवारीसाधनमा क्षति पुगेकाले क्षतिपूर्तिको मागसहित दोषीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम कार्वाही गर्नुपर्ने निवेदनमा उल्लेख छ । पक्राउ परेका विक्रम लिम्बूमाथि उपद्रो व्यवहारसम्बन्धी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले अन्य संलग्नहरुको पनि खोजी भइरहेको जानकारी दिए ।

तोडफोड भएका गाडीको विवरणसहितको उजुरी

युवा संघको कार्यक्रम चलिरहेको बेलामा पार्किङमा राखिएका गाडी तोडफोड भएको हो । युवा संघले मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका प्रसाईले तोडफोड गर्न लगाएको दावी गरेको छ । पहिचानवादीका तर्फबाट प्रदेश नं १ को पुनः नामांकन संयुक्त संघर्ष समतिका संयोजक पाण्डवलाल चौधरी र सदस्य सचिव सेसेहाङ फियाकले पनि एक विज्ञप्ति जारी गरी आफूहरुले शान्तिपूर्ण आन्दोलन गरेको र तोडफोडमा संलग्न नभएको दावी गरेका छन् । पहिचानवादीका तर्फबाट कुनै पनि हिंसात्मक , अराजक र उच्छृंखल गतिविधि नभएको उनीहरुले दावी गरेका छन् ।

संघर्ष समितिको विज्ञप्ति

त्यसो त , पहिचानवादीहरुको विगतदेखि हालसम्मका आन्दोलन शान्तिपूर्णभन्दा पनि उच्छृंखलजस्तै देखिने गरेको छ । पहिचानवादीहरुले शक्ति प्रदर्शन गर्नकै लागि केही साताअघि बिर्तामोडमा लठ्ठीसहितको १५ सयजनाको युवा दस्ता गठन गरेका थिए । युवा दस्ताले महेश बस्नेत आउनुभन्दा अगाडि विज्ञप्ति जारी गरी कुनै पनि हालतमा कार्यक्रम गर्न नदिने चेतावनी दिएको थियो । प्रदेश नं १ को पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजक चौधरीले सामाजिक संजालमार्फत लेखेका छन् , ‘आन्दोलनमा आए लिम्बुवान किरात , सिके राउत आए मधेशबादी ,दुर्गा प्रसाईंतिर गए राजावादी ,त्यस्तो मान्छेको पछि किन दगुरेको ?’ पहिचानवादीहरुको आन्दोलन अराजक र अनियन्त्रित बन्दै गएको छ । त्यसलाई संघर्ष समितिका नेताहरुले स्वयं स्वीकारेका हुन् । विगत ८ महिनादेखि चल्दै आएको संघर्ष समिति नेतृत्वको पहिचानको आन्दोलन अवसरवादीहरूको झुण्डले सिध्याउन लागेको कुरा आफूहरुले महसुस गरेको प्रदेश नं १ को पुनः नामांकन संयुक्त संघर्ष समतिका सदस्य सचिव सेसेहाङ फियाकले बताएका छन् ।

किरात लिम्बुवान अभियान लिएर प्रेमदीप थाम्सुहाङले पनि आन्दोलन गरिरहेका छन् । उनी दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानका केन्द्रीय सचिवालय सदस्य हुन् । त्यही भएर एउटै गलत उद्धेश्य लिएर कार्यक्रममा उपस्थित भएका पहिचानवादी र प्रसाई समर्थकहरुबीच उच्छृंखल गतिविधिमा सहकार्य भएको कुरा पुष्टि भएको छ । काठमाडौंको एक होटलमा प्रसाईमाथि मोसो दलेपछि उनले त्यसको बदला लिने एमाले नेता बस्नेतलाई चेतावनी दिएका थिए । त्यही बदलाको भावना लिएर प्रसाईका समर्थकहरु कार्यक्रमस्थल पुगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्