झापा, असोज २८ । नेपालले एसीसी यु १९ प्रिमियर कप क्रिकेटमा आइतबार बहराइनलाई ७ विकेटले पराजित गरेको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले लगातार दोस्रो विजय हात पार्दै सेमिफाइनल नजिक पुगेको हो । दीपेश कँडेल र दुर्गेश गुप्ताले धारिलो बलिङ गरेपछि क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङमा आएको बहराइनलाई नेपालले ३७.५ ओभरमा ७७ रनमा अलआउट गरेको थियो । बहराइनबाट मोहम्मद बसिलले ७७ बल खेली २ चौका र २ छक्का प्रहार गरी ३४ रन बनाउनुबाहेक बहराइनबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

नेपालबाट दीपेशले ६ र दुर्गेशले ४ विकेट लिए । हेमन्त धामीसँग नयाँ बल लिएर आएका स्पिनर दीपेशले ९.५ ओभरमा ८ मेडन राख्दै ४ रनमात्र खर्चेका थिए । दुर्गेशले ८ ओभरमा १ मेडन राख्दै २२ रन खर्चे ।

जवाफमा नेपालको सुरुआत राम्रो रहेन । दीपक बोहरा, ४, उत्तम थापामगर शून्य र दीपक डुम्रे १ रनमै आउट भएका थिए । ओपनर अर्जुन कुमाल र कप्तान देव खनालले समान अविजित ३२ रन बनाउदै नेपाललाई विजयी बनाए । अर्जुनले ३१ बल खेली ५ चौका र देवले २७ बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।

देव खनालको शतकमा नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ रनले पराजित गरेको थियो । नेपालले अब बिहीबार साउदी अरेबियासँग समूह चरणको अन्तिम खेल खेल्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्