बिर्तामोड, असोज २७ । आशिष चापागाईंको तीन गोलको मद्धतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड– २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा चन्द्रगढीको ब्रदर्स युनाइटेड क्लबलाई हराउँदै एकताले अन्तिम चारमा स्थान पक्का गरेको हो ।खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाएका थिए । एकताले बद्रर्सलाई ४–२ गोल अन्तरले हराएको हो ।
खेलको सातौँ मिनेटमा एकताका सुशील राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, आशिषले खेलको १७ औँ, ३८ औँ र ५२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

ब्रदर्सका तर्फबाट २० औँ मिनेटमा भाइचुङ राई र २८ औँ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए । निर्णायक युवराज बजगाईंले गलत निर्णय गरेको भन्दै ब्रदर्सका खेलाडीले केहीबेर खेल रोकेका थिए ।
आजको खेलको प्लेयर अफ द म्याच एकताका आशिष चापागाईं भए । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूको सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्