झिलझिले, असोज २८ । झापाको शिवसताक्षी नगरपालिकामा कात्तिक ४ गतेदेखि मिनी मेला लाग्ने भएको छ ।

स्थानीय वडा नम्बर ८ झिलझिलेको समाजसेवी युवा क्लवले मेलाको आयोजना गरेको हो । आयोजकका अनुसार बडादशै, शुभ दीपावली, छठलगायतका पर्वको अवसरमा मेला आयोजना गर्न लागिएको हो ।‘प्रथम समाजसेवी सांगीतिक तथा सांस्कृतिक मिनी मेला’को बारेमा आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सो मेलाले सामाजिक सद्भाव, धार्मिक तथा व्यावसायिक एकता कायम गर्ने विश्वास लिइएको छ ।

स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्धेश्यले मेलाको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजु त्रिखत्रीले बताए । उनले भने,‘ राष्ट्रिय तथा र स्थानीय स्तरका कलाकारको मेलामा प्रस्तुति रहने हुँदा मेलालाई पर्यटनसंग पनि जोड्न सकिन्छ ।’ मेलाले स्थानीय झिलझिले बजारको व्यापार व्यवसायलाई पनि टेवा पुग्ने त्रिखत्रीले बताए ।

विभिन्न रोजगारी, अध्ययन, व्यापार व्यवसाय वा अन्य कुनै कारणले घर बाहिर रहेका सदस्य चाडपर्वका बेला फर्कने र सामूहिक रुपमा पर्व मनाउने हुँदा मिनी मेलाले भाइचारा कायम राख्ने, पुराना साथीसंगीसंग भेटघाट भई आत्मीयता साटासाट गर्ने अवसरका रुपमा पनि मेलालाई लिन सकिने झिलझिलेका स्थानीयले बताएका छन् ।

कात्तिक १० गतेसम्म संचालन हुने मेलामा आयोजकले ४ लाख रुपैयाँ खर्च अनुमान गरेको छ । कार्यक्रम संयोजक प्रताप खापुङले भने, ‘ मेलामा आउने सर्वसाधारणले कुनै शुल्क तिर्नु पर्दैन । मेलामा राखिएका स्टलबाट संकलन हुने रकम र नगरबाट बैदेशिक रोजगारमा गएका दाजुभाइबाट प्राप्त सहयोगले मेला संचालन हुने छ ।’

आयोजकका अनुसार कात्तिक ४ गते विश्वास उप्रेती, ५ गते जीवन साम्पाङ, ६ गते डम्बर नेपाली, ७ गते श्रीकृष्ण लुईटेल (बोकेदारी) ८ गते द लिजार्ड ब्याण्ड, ९ गते मिलन परियार र १० गते जोनी एण्ड द व्याण्डको प्रस्तुती रहने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्