बिर्तामोड, असोज २९ । मोफसलको चर्चित टिम झापा ११ एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सैनिक एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो ।

खेल अवधिभर झापा ११ ले सैनिकलाई दबाबमा राखेको थियो । उत्कृष्ट फिनिसिङ र पास खेलेको झापा ११ ले सैनिकलाई ६–२ गोल अन्तरले हराएको हो । खेलको १५ औँ मिनेटमा झापा ११ का पेमा तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ३० औँ र ५० औँ मिनेटमा मनिष लिम्बूले गोल गर्दै टिमलाई तीन गोलको अन्तर बनाए ।
त्यस्तै, खेलको ४४ औँ र ६० औँ मिनेटमा प्रदिप बुढाथोकीले गोल गरे भने ५४ औँ मिनेटमा विशाल थिङले एक गोल गरेका थिए ।
सैनिकका लागि खेलको अन्त्यमा राष्ट्रिय टोलीका पूर्वसदस्य रेजिन सुब्बाले गोल गरे । सुब्बाले ५२ औँ र ६२ औँ मिनेटमा गोल गरेका थिए ।

आजको खेलको प्लेयर अफ द म्याच झापा ११ का दुई गोलकर्ता मनिष लिम्बू भए । उनलाई आजका प्रमुख अतिथि झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले नगद तीन हजार प्रदान गरे ।

प्रतियोगितामा झापाका आठवटा क्लबहरूको सहभागिता रहेको छ । झापा ११ एफसी, बाहुनडाँगी एफसी, बुट्टाबारी युनाइटेड, झापा एफसी राजगढ, सैनिक एफसी, नव प्रतिभा युवा क्लव, ब्रदर्श युनाइटेड र आयोजक एकता स्पोर्टिङ क्लबले प्रतियोगितामा भाग लिएको अध्यक्ष किरण पौडेलले बताए ।

प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने सचिवालय सदस्य गोविन्द गिरीले बताए ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्