शनिश्चरे, असोज २९ । झापाको अर्जुनधारा ११ मा जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको आज भएको तेस्रो क्वाटरफाइनलमा विजयी हुँदै बिर्तामोड खोपबाडीको न्यूस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धी बिर्तामोड युनाइटेडमाथि १–० गोलको साँघुरो जित दर्ता गर्दै न्यूस्टारले अन्तिम चारमा स्थान बनाएको हो । पेनाल्टीमार्फत गोल गर्दै न्यूस्टारले बिर्तामोड युनाइटेडको चुनौती समाप्त बनाएको हो । खेलको २१औँ मिनेटमा न्यूस्टारले पेनाल्टी पाउँदा रोमन भुजेलले मौका गुमाएनन्। रोमनकै गोल निर्णायक सावित भयो । उनी खेलको म्यान अफ दी म्याच बने । उनले नगद २ हजार ५ सय पाए ।

झापाका ८ टिम सहभागी प्रतियोगितामा भोलि काँकरभिट्टा ट्रेनिङ सेन्टर र शिवसताक्षी एफसीबीच अन्तिम क्वाटरफाइन खेल हुनेछ । कात्तिक ४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आर्थिक संयोजक टेकराज तिलिङले बताए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही ३–३ हजार पाउने छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्