मेचीनगर, असोज २९ ।शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सदस्य सेवाकेन्द्र धुलावारी उत्कृष्ट भएको छ । शिक्षाका पाँचवटा सेवाकेन्द्रमध्ये धुलावारी सेवाकेन्द्र उत्कृष्ट भएको हो ।

सदस्य विस्तार, बचत संकलन, ऋण असुली, कार्यसम्पादन र परिणाममुखी नतिजाका आधारमा धुलावारी सेवाकेन्द्र उत्कृष्ट भएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

सोमवार सदस्य सेवाकेन्द्र धुलावारीको इकाइगत साधारणसभाको अवसरमा अध्यक्ष न्यौपानेले उत्कृष्ट सेवाकेन्द्रका विषयमा अवगत गराएका हुन् । स्थापनाको छोटो अवधिमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारीमा सदस्यको मन जित्दै गएको छ । नाफामुखीभन्दा पनि सदस्यको सुविधामा संस्थाले ध्यान दिँदै आएको संस्थाका अध्यक्ष न्यौपाने बताउँछन् । बिर्तामोड–२ मा १० कठ्ठा जग्गा किनेको शिक्षा बहुउद्देश्यीयले पूर्व प्राथमिक तहको सहकारी विद्यालय सञ्चालन गरिरहेको छ । संस्थाको शेयर पूँजी ३ करोड ४९ लाख ८१ हजार रुपैयाँ छ ।

संस्थाले सदस्यहरुलाई मृत्यु राहत संस्कारदेखि मोवाइल बैंकिङसम्मका १९ प्रकारका सुविधा प्रदान गर्दै आएको छ ।
सुत्केरी खर्चवापत सदस्य महिलाले दुई हजारदेखि १५ हजार रुपैयाँसम्म पाउँदै आएका छन् । पुरुष सदस्यले पनि मातृ शिशु सहायतावापत अधिकतम् साढे सात हजार रुपैयाँ पाउँछन् । शिक्षाका सदस्य निःशुल्क रगत पाउँछन् ।
शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाबाट भर्खरै सुत्केरी खर्च र पोषण सहायतावापत आफूले ३५ हजार रुपैयाँ सहयोग पाएको संस्थाकी शेयर सदस्य समीक्षा चौलागाईले बताइन् ।

राष्ट्रिय सहकारी बैँककी शाखा प्रमुख मुना घिमिरेको प्रमुख आतिथ्यमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारीमा इकाइगत साधारणसभा सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले शिक्षा सहकारी झापामा उदाहरणीय संस्थाको रुपमा स्थापित हुँदै गएको बताइन् । उद्देश्यअनुरुप आफ्नै व्यवस्थापनमा विद्यालय सञ्चालन गरेर शिक्षा बहुउद्देश्यीयले नमुना काम थालेको घिमिरेको धारणा छ ।
इकाइगत साधारणसभाको अवसरमा शिक्षा बहुउद्देश्यीय सहकारीले धुलावारी सेवाकेन्द्रका उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई पुरस्कृत पनि गरेको छ । पुरस्कृत हुनेमा राम रिजाल, नीतिका रिजाल, कमल सहनी र सन्तोष विश्वकर्मा छन् ।
उत्कृष्ट बचतकर्ता र ऋणी सदस्यलाई प्रमुख अतिथि घिमिरे, अध्यक्ष न्यौपाने, लेखा समितिका संयोजक युवराज निरौला, उपाध्यक्ष हेमराज मिश्रलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा लेखा समिति सदस्य लक्ष्मी देवानले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको साधारणसभामा सेवाकेन्द्र प्रमुख विपना तिम्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् । सदस्य सेवाकेन्द्र धुलावारीअन्तर्गत ५८५ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्