एजेन्सी । खराब लयबाट गुज्रिरहेको अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार पहिलो जित हात पारेको छ ।

लखनऊमा भएको खेलमा अस्ट्रेलियाले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको हो । अस्ट्रेलिया यसअघिका दुई खेलमा लगातार पराजित रहेको थियो ।

जितका लागि २ सय १० रनको लक्ष्य पाएको अस्ट्रेलियाले ५ विकेट गुमाएर ३५.२ ओभरमा २ सय १५ रन बनायो । अस्ट्रेलियाका लागि ओपनर मिचेल मार्सले ५२ रन बनाए । यस्तै जोस इङलिसले ५८ रनको योगदान दिए ।

त्यसअगाडि पहिले ब्याटिङ गरेको श्रीलंका ४३.३ ओभर मात्र टिकेको थियो । श्रीलंकाले सबै विकेट गुमाएर २ सय ९ रन मात्र बनायो । श्रीलंका २ विकेट गुमाएर १ सय ५७ रनको स्थितिबाट सस्तोमा अलआउट भएको हो । श्रीलंकाका लागि ओपनरद्वयमध्ये पाथुम निसन्काले ६१ र कुशल परेराले ७८ रन बनाए । अस्ट्रेलियाली बलरमध्ये एडम जाम्पाले उत्कृष्ट बलिङ गरे र उनले ४७ रन खर्चिएर चार विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्