झापा, असोज ३० । बिर्तामोड–१० चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड २ विरुद्ध ५–० गोल अन्तरको फराकिलो जित निकाल्दै बिर्तामोड–१० फाइनलमा प्रवेश गरेको हो ।

बिर्तामोड–१० लाई जित दिलाउन सौरव लिम्बूले ह्याट्रिक गरे । पहिलो हाफको ९औं मिनेटमा पहिलो गर्दै टिमलाई अग्रता दिलाएका लिम्बूले खेलको १९ औं मिनेटमा दोस्रो गोल गरे । निर्धारित ७० मिनेटको खेलमा लिम्बूले ५८ औं मिनेटमा व्यक्तिगत तेस्रो तथा टिमका लागि चौथो गोल गर्दै ह्याट्रिक पुरा गरे ।

बिर्तामोड–१० का लागि अभिषेक गुरुङले थप दुई गोल गरे । उनले खेलको ४२ औं मिनेटमा पहिलो गोल गरेका थिए । ५८ औं मिनेटमा थप एक गर्दै गुरुङले टिमको अग्रतालाई ५–० बनाएका थिए ।

बिर्तामोड–२ ले भने खेलमा सान्त्वना गोल समेत फर्काउन सकेन । खेल अवधिभर स्कोर गर्ने प्रयास गरेपनि विपक्षी बाधक बन्दा सफल हुन सकेन । खेलमा बिर्तामोड २ का नविन वि.क.ले ४१ औं मिनेटमा र विपिन लिम्बूले ६५ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

बिर्तामोड–१० का लागि ह्याट्रिक गर्ने सौरव लिम्बू आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । आयोजकको तर्फबाट नगद १५ सय र युवा व्यवसायी दिपेन चौधरीको तर्फबाट १ हजार गरेर उनले नगद २५ सय पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

बिर्तामोड–१०ले अब कात्तिक २ गते हुने फाइनल खेलमा बिर्तामोड–५ संग प्रतिस्पर्धा गर्ने छ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलबाट बिर्तामोड ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड ५ ले फाइनलमा स्थान बनाएको थियो ।

बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार रुपैयाँ र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्ने छ ।
प्रतियोगिताको फाइनलको दिन पत्रकार र कलाकारबीच मैत्रीपूर्ण खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्