अर्जुनधारा, असोज ३० । मेचीनगरको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई रोक्दै शिवसताक्षीधाम स्पोर्टिङ क्लब अर्जुनधारामा जारी प्रथम लक्ष्मीधाप जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लक्ष्मीधाप खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा १–० गोलको साँघुरो जित निकाल्दै शिवसताक्षीले अन्तिम चारमा स्थान बनाएको हो । यो खेलसँगै सेमी समिकरण पनि पूरा भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा शिवसताक्षीका लागि निर्णायक गोल विदेशी खेलाडीले गरेका थिए । खेलको १४औँ मिनेटमा काँकरभिट्टाका कप्तान तथा रक्षक दिवस उरावले पेनाल्टी एरियामा रहेको बल क्लियर गर्न खोज्दा शिवसताक्षीका अली सिरिकाईलाई लाग्दै गोलपोस्टको दिशा लिएको थियो । निर्धारित ६० मिनेटको खेलमा काँकरभिट्टा खेलमा फर्किन सकेन भने शिवसताक्षीले पनि कुनै थप गोल गर्न सकेन ।

खेलको म्यान अफ दी म्याच शिवसताक्षीका हेमन्त लिम्बू भए । उनले नगद २ हजार ५ सय र ट्रफी पाए । झापा जिल्लाका ८ टिम सहभागी प्रतियोगितामा भोलि न्यूस्टार क्लब खोपबाडी (बिर्तामोड) र जलथल एफसी, हल्दिबारीले पहिलो सेमिफाइनल खेल खेल्नेछन् ।

कात्तिक ४ गते हुने फाइनल खेलको विजेताले नगद ५१ हजारसहित ट्रफी पाउने छ भने उपविजेताले नगद ३१ हजारमा चित्त बुझाउनु पर्नेछ । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार पाउने आर्थिक संयोजक टेकराज तिलिङले बताए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले जनही ३–३ हजार पाउने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्