बिर्तामोड , कात्तिक २ । पेवर्सबाट निर्माण सम्पन्न भएको बिर्तामोड ५ बुद्धमार्गको सडक पाँच वर्षपछि स्थानीय बालाजी टोल विकास संस्थालाई हस्तान्तरण गरिएको छ ।

पाँच वर्षको ग्यारेन्टी दिएर विल्डकन इन्डस्ट्रिजले सो सडकमा पेवर्स लगाएको थियो । पाँच वर्षसम्म कुनै पनि खराबी नआएपछि कम्पनीले आज एक कार्यक्रम गरी टोल विकास संस्थालाई सडक हस्तान्तरण गरेको हो । बालाजी टोल विकास संस्थाद्वारा आयोजित विजयादशमी शुभकामना आदानप्रदान तथा सडक हस्तान्तरण कार्यक्रममा गुणस्तरीय सडक निर्माण गर्ने विल्डकन इन्डष्ट्रिजका संचालक भीमचन्द्र भट्टराईलाई सम्मान गरिएको थियो ।

टोल विकास संस्थाका अध्यक्ष नरेन्द्रकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई , उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला , बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाई , १ का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेलगायतले बोल्दै विल्डकनकै पेवर्स लगाउन नगरपालिकाले सिफारिस नगरेको बताउँदै विल्डकनजस्तै गुणस्तरीय पेवर्स लगाउन मात्र जोड दिएको स्पष्ट पारे । उनीहरुले विल्डकनको पेवर्सलाई ल्यावमा परीक्षण गर्दा उत्कृष्ट पाइएको जानकारी दिए । अन्य पेवर्सको टिकाउ १५ देखि २० वर्ष भएकोमा विल्डकन त्यसको दोब्बर टिक्ने कम्पनीले दावी गरेको छ ।

कार्यक्रममा बिर्तामोड ५ का वडा सदस्यहरु ओमभक्त सेढाई , दुर्गा शिवाकोटी ,बालाजी टोल विकास संस्थाका निवर्तमान अध्यक्ष नन्दकिशोर निरौला , अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानी , पाथीभरा टोल विकास संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीलगायतको उपस्थिति रहेको थियो । संस्थाका सल्लाहकार डा. चन्द्र दुलालले स्वागत गरेको कार्यक्रमको संचालन टोल विकास संस्थाका सचिव ज्ञानेन्द्र अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्