द्रोण अधिकारी
भद्रपुर । भद्रपुर कला साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा चन्द्रगढीमा एक दिवसीय बृहद कविता गोष्ठी सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालको सभापतित्व तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य रहेको गोष्ठीमा कोशी प्रदेशका अग्रज कविहरूको सहभागिता रहेको थियो ।

गोष्ठीमा भद्रपुर नगरपालिकाभित्र रहेका १० वटै वडाबाट छानिएर आएका बाल कविहरूले प्रतिष्पर्धात्मक कविता वाचन गरेका थिए । त्यस्तै नगर, जिल्ला र बाहिरी जिल्लाका दुई दर्जनबढी कविहरूले मन छुने कविता प्रस्तुत गरेका थिए ।
कवितामा देश दुखेको, सिमाना मिचिएको, परदेशिनु परेको पीडा, मृतृत्व भावको खोजी, पिताको दायित्व र राजनीतिको विकृतिमाथिको प्रहार जस्ता पक्षलाई सशक्त भाव बनाएर कविता प्रस्तुत गरिएको थियो ।

गोष्ठीमा प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, मुनाराज शेर्मालगायत झापा तथा कोशी प्रदेशका अन्य जिल्लाका स्थापित कविहरूले आ—आफ्ना कविता प्रस्तुत गरेका थिए ।

झर्रोवादका संस्थापक सदस्य एवम् भाषासेवी चुडामणि रेग्मीलाई अभिनन्दन गरिएको कार्यक्रममा शब्दद्वारा स्वागत प्रतिष्ठानकी कोषाध्यक्ष धनमाया खरेल लता तथा गीतमार्फत डा. कुमार पौडेल, निरज पोखरेल र पवित्रा ओलीले गरेका थिए । कार्यक्रमको संचालन उपाध्यक्ष खगेन्द्रा खुसी र सचिव डिल्लीरमण नेपालले संयुक्तरुपमा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्