झापा, कात्तिक ४ । बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईको इच्छाअनुसार बेहुली लिन गएजसरी इलाम दानावारीका स्थानीयहरु आज बिहानै ठूलो तामझामका साथ दुर्गा माताको मूर्ति लिन बिर्तामोड आए । तर, उनीहरुले मूर्ति नलिइ रित्तै फर्किनु पर्यो ।

मूर्ति प्रतिष्थापन हुन नसकेको मन्दिर

माई नगरपालिकाको दानावारी शुक्रवारे बजारमा रहेको दुर्गा मन्दिरमा मूर्ति राख्ने सपना चकनाचुर मात्र भएन, लागेको खर्च कसरी तिर्ने भनेर स्थानीयहरु पिरोलिएका छन् । बीएण्डसीका संचालक प्रसाईले दुर्गाको मूर्ति दिने भएपछि स्थानीयले घटस्थापनका दिनदेखि त्यहाँ पूजापाठ शुरु गरेका थिए । त्यस्तै आज महासप्तमीका दिन प्रसाईले दिने भनेको दुर्गाको मूर्ति प्रतिष्थापनका लागि टेन्ट , गेट , मंच , खाजा पानीलगायतमा ठूलो खर्च गरेका थिए । प्रमुख अतिथि भएर जान लागेका प्रसाईले चार–पाँच हजार जना सहभागी गराउन भनेका थिए । आफूहरुले पाँच सयभन्दा बढीलाई सहभागी गराएको मन्दिर समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

त्यस्तै दुर्गा प्रसाई र दुर्गाको मूर्ति लिनका लागि पाँच वटा बस , ८ वटा ट्याक्सी र ६०–७० वटा मोटरसाइकल लिएर माई नगरवासीहरु नौमती बाजागाजासहित बिर्तामोड आएका थिए । जुन उत्साहका साथ उनीहरु आए, त्यो बिर्तामोडमा आएर निराशामा परिणत भयो । एमालेनिकट युवा संघका कार्यकर्ताहरुले दानाबारी जाने बाटोको सुखानीमा अवरोध गरेर प्रसाईलाई कार्यक्रमस्थलमा जान नदिने र प्रसाई पनि नजाने भएपछि माई नगरवासीहरु बिर्तामोडमा आएर तितरवितर भए । कोही बीएडसी हस्पिटलतर्फ लागे त कोही तक्षशिला तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलतिर । तक्षशीला इङ्लिस स्कूलमा मूर्ति राखिएको थियो । त्यहीबाट लाने योजना थियो । ‘जुन सपना बोकेर आएका थियौं त्यो सबै चकनाचुर भयो ’ मन्दिर समितिका अध्यक्ष श्रेष्ठले भने,‘जन्ती लिएर बेहुली लिन गएका थियौं रित्तै फर्किनु पर्यो ।’

मूर्ति लिन जान लागेका दानावारीवासी

स्थानीय कृष्ण खाकीका बुवाले २०३९ सालमा शुक्रवारे बजारमा सो दुर्गा मन्दिर बनाइदिएका थिए । पहिला मन्दिरमा माटोको मूर्ति रहेको थियो । त्यसपछि सिमेन्टको मूर्ति राखिएको थियो । प्रसाईले धातुको आकर्षक मूर्ति दिने भएपछि स्थानीयहरु उत्साहित भएका थिए । धेरै स्थानीय भक्तालुहरु निराहार बसेका थिए । उनीहरु बिर्तामोडबाट फर्किदा दिउँसोसम्म भोकै रहेका थिए । मूर्ति प्रतिष्थापन गर्न नपाउँदा स्थानीयहरु आक्रोशित भएका छन् ।

मन्दिरमा प्रतिष्थापन गर्ने भनिएको मूर्तिलाई मन्दिर समितिका अध्यक्ष श्रेष्ठसहित १० जनाले घटस्थापनाकै दिन तक्षशीला स्कूलमा आएर पूजापाठ गरिसकेका थिए । महासप्तमीका दिन बिहान ९.३० बजे त्यसलाई शुक्रवारेमा लगेर प्रतिष्थापन गर्ने साइत रहेको थियो । तामझामसहित दुर्गाको मूर्ति लानका लागि करिव अढाई लाख रुपैयाँ खर्च भएको अध्यक्ष श्रेष्ठले बताए । ‘ यति धेरै खर्च भयो मूर्ति पनि पाइएन’ उनले भने ,‘मन्दिर समितिसंग पैसा छैन कसरी तिर्ने होला ? ’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्