झापा, कात्तिक ४ । बिर्तामोड यूथ क्लब झापालाई टाईब्रेकरमा ५–३ गोलले हराउँदै ब्रिगेड ब्वाईज क्लब काठमाडौंले आज छैठौं बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

खेलको दोस्रो मिनेटमै अभिषेक गुरुङको गोलमार्फत् अग्रता लिएको झापा सम्हालिन नसक्दा उपाधि गुमायो । खेलको ३१ औं मिनेटमा ब्रिगेडका दिपेश आलेले गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।
निर्धारित समयमा दुबै टिमबाट एक–एक गोलको बराबरी खेलेपछि उपाधिको छिनोफानो टाईब्रेकरबाट गर्दा पाहुना टोली ब्रिगेड भाग्यमानी रहयो । टाईब्रेकरमा ब्रिगेडका रोशन राना, एन्जल महर्जन, दिपेश आले, अनिश तामाङ र विक्रम लिम्बुको प्रहार गोलमा परिणत भयो ।

झापाका योगेश गुरुङ, विशाल दर्जी र विक्रम लिम्बुको प्रहारले मात्र जाली चुम्दा निशान तामाङको प्रहारलाई ब्रिगेडका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गर्दै टिमलाई उपाधि पक्का गरे । उनी उत्कृष्ट गोलकिपर घोषित भए ।
प्रतियोगितामा ब्रिगेडका जय गुरुङ उत्कृष्ट खेलाडी, पदम भट्टराई उत्कृष्ट डिफेन्स र दिपेश आले हाईस्कोरको पुरस्कारबाट सम्मानित भए । त्यसैगरी बिर्तामोडका आशिष चापागाईं उत्कृष्ट फरवार्ड ठहरिए ।

प्रतियोगिताको विजेतालाई ८ लाख र उपविजेतालाई ५ लाख पुरस्कारसहित ट्रफी खेलकुद मन्त्री डिगबहादुर लिम्बूले वितरण गरे । प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्