झापा, कात्तिक ५ । जनकपुरको राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिएको छ। विगतझैं यस वर्ष पनि मन्दिरभित्र राजदेवी माताको दर्शन गर्न महिलालाई निषेध गरिएको हो ।

प्राचीन मिथिला तथा मधेस प्रदेशको राजधानी जनकपुरधामको श्रीराम मन्दिरको उत्तरपट्टी रहेको राजर्षी जनककी कुलदेवी राजदेवी मन्दिरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा कायमै रहेको हो । सो अवधिमा महिलाका लागि मन्दिरको एउटा झ्याल खुल्ला गरिएको हुन्छ, त्यही झ्यालबाट पूजाअर्चना गरेर फर्किनुपर्छ ।
महिला दर्शनार्थीलाई भित्र छिर्न नदिए पनि ठुलो संख्यामा महिलाहरू सो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । उनीहरू घण्टौँसम्म लाइनमा उभिएर मन्दिरको बन्द रहेको झ्याललाई छोएर पूजा र भाकल गर्ने गर्दछन् । धार्मिक आस्थाले गर्दा महिलाहरू यो परम्परालाई यथावत् राखे पनि महिलाले समेत मन्दिरभित्र छिरेर दर्शन गर्न पाउनुपर्ने भन्दै आवाज बेला–बेलामा उठ्ने गरेको छ ।

राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको जनविश्वास रहेकाले सो मन्दिरभित्र महिलाको प्रवेशमा रोक लगाइएको मन्दिरका पुजारी राम गिरीको भनाइ छ । त्यस्तै रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले पनि मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइएको पुजारी गिरी बताउँछन् । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई मन्दिरमा प्रवेश गर्न रोक लगाइएको हुनसक्ने केहीको अनुमान छ ।

परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिलाले सो अवधिभर भित्र पस्ने आँट नगरेको दावी गर्दै महन्थ गिरी भन्छन्, “ २०२० सालतिर नरेशानन्द गिरी नामका महन्थले यहाँको बलिप्रथा रोकेर बलि नचढाउँदा उनलाई अनिष्ट भएकाले पछि क्षमापूजा गरी बलि चढाइएको थियो ।” दशैंमा राममन्दिर र जानकी मन्दिरमा पूजाको विधि विधानमा फेरबदल नभए पनि पूजा गर्ने द्वार र महिलाको प्रवेशमा फरक हुने गरेको छ ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई मन्दिरभित्र प्रवेश निषेध गरिएपनि त्यसपछि उनीहरुका लागि पनि खुला हुने महन्थ गिरीले बताए । घटस्थापनादेखि नवमीसम्म मन्दिरमा महिलाको प्रवेशमा रोक लगाउनुलाई अधिकारकर्मी विनोद रविदास धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा मान्छन् । यसको विरोधमा जनकपुरवासीले महिलामाथिको यस्तो विभेद र छुवाछूतको अन्त्य गरिनुुपर्ने जोडदार माग गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्