झापा,कात्तिक ५ । कोशी प्रदेशमा यस वर्ष धान उत्पादन सामान्य ढंगले बढ्नसक्ने सरकारी अधिकारी तथा विज्ञहरुले अनुमान गरेका छन् ।

कोशी प्रदेशमा पनि झापा, मोरङ र सुनसरी जिल्ला धान उत्पादनको भण्डार नै मानिन्छ ।
यी जिल्लाहरुमा अहिलेसम्म रोग, किरा, पानी, बतासलगायतका समस्याले धानमा ठूलो असर गरेको छैन । कोशी प्रदेश कृषि निर्देशनालयका प्रमुख तथा कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगीले झापा, मोरङ र सुनसरीमा यस पटक धान उत्पादन राम्रो हुने अनुमान गरिएको बताए ।

‘अहिलेसम्मको अवस्था हेर्दा धान कोशी प्रदेशमा राम्रो उत्पादन हुने देखिएको छ । विगत वर्षको तुलनामा घट्नेभन्दा सामान्य बढ्न सक्ने हाम्रो अनुमान छ,’ डाँगीले भने, ‘रोग, किरा तथा हुरीबतास र पानीले यस पटक ठूलो असर गरेको रिपोर्ट छैन ।’
धान विज्ञ डा. राजेन्द्र उप्रेती पनि यस पटक धान उत्पादन बढ्ने दाबी गर्छन् । ‘गत वर्षभन्दा धेरै राम्रो उत्पादन हुने देखिएको छ । झापा, मोरङ, सुनसरीमा बोट हेर्दा पनि त्यो राम्रो हुने अनुमान गर्न सकिन्छ,’ उप्रेतीले भने, ‘अबको धानमा फूल उडाउने या हावाहुरीले लडाए पनि क्षति हुने सम्भावना छैन ।’ किसानहरुले धेरै धान रन्जीत र स्वर्ण प्रजातिका लगाएका छन् । उक्त धान अहिलेसम्ममा दूध पसेर, नुहाइसकेको र पाक्ने क्रममा रहेको कारण अब हावाहुरी र असिनाले धेरै असर गर्न नसक्ने उप्रेतीको दाबी छ ।

३ लाख ३२ हजार ८९६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यो ९७.६७ प्रतिशत रोपाइँ भएको हो । गत वर्ष ९७.१ प्रतिशत अर्थात् ३ लाख ३१ हजार ८८ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो । कोशी प्रदेश कृषि निर्देशनालयले दिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९–२०८० मा भने १२ लाख ९८ हजार ८५५ दशमलव १५ मेट्रिक टन धान उत्पादन भएको थियो । कोशी प्रदेशमा धान उत्पादन हुने जमिन ३ लाख ४० हजार ८२९ हेक्टर रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्