झापा, कात्तिक ६ । आज बिहानैदेखि गरामनीको ऐतिहासिक दुर्गा मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।


महानवमी पर्वका अवसरमा गरामनीको धार्मिक , ऐतिहासिक एवं पुरातात्विक दुर्गा मन्दिरमा आज बिहान ३ बजेदेखि नै भक्तजनहरुको भीड लागेको हो । राति ३ बजे मौलो पूजा गरिसकेपछि मन्दिरको गेट खुल्ला गरिएको मन्दिरका पुजारी मोहन घिमिरेले बताए । अनादिकालमा स्थापना भएको गरामनीको ऐतिहासिक दुर्गा मन्दिरमा महानवमीका दिन महापूजा र एकादशीका दिन मेला लाग्ने गरेको छ ।

बिहान ३ बजे सलामीसहित वडाध्यक्ष अजय कार्कीको हातबाट मौलो पूजा गरिसकेपछि भक्तालुहरुका लागि मन्दिर खुल्ला गरिएको हो । वडाध्यक्ष कार्कीले भक्तालुहरुलाई व्यवस्थित गर्दै सहजीकरण गर्नका लागि ६२ जना स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । त्यस्तै मन्दिरमा पूजाको जिम्मेवारी लिएको राजवंशी समाज विकास समितिले बिर्तामोडको ७ , ८ र ९ नं वडा समिति परिचालन गरेको समितिका प्रदीप राजवंशीले बताए ।

यसैबीच बिर्तामोड ८ नं वडा कार्यालयले धेरै वर्षपछि दुर्गा शक्तिपीठमा कालरात्रि पूजा गरेको छ । महाअष्टमीको राति कालो बोकाको बलि दिएर कालरात्रि पूजा गरिएको वडाध्यक्ष कार्कीले बताए । गरामनी गाउँ विकास समिति हुँदाका बखत कालरात्रि पूजा गरिन्थ्यो । त्यसपछि भने हुन छोडेको थियो । आफूहरुले यस वर्षदेखि गरामनीको शक्तिपीठमा कालरात्रि पूजा शुरु गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्