झापा,कात्तिक १२ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सबैसंग सहकार्य गरेर प्रदेश सरकार विस्तार गर्नुपर्दा ढिलाई भएको स्वीकारेका छन् ।

नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका कार्की गठबन्धन र एमालेको चेपुवामा परिरहेको चर्चा चलिरहेका बेला उनको त्यस्तो स्वीकारोक्ति आएको हो ।

अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशनको आइतबार झापाको बिर्तामोडमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सबैको साझा परिवारको रुपमा प्रदेश सरकार विस्तार गर्न लागेको बताउँदै भने,‘प्रदेश जन्माउने आमा ,कर्म दिने बुवा , हजुरबुवालाई ढोग्नै पर्यो , सम्मान दिनै पर्यो ।’ प्रदेश सरकार अहिले बलियो बनेको उनको दावी थियो ।

त्यस्तै नेपाली कांग्रेस झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सांसदलाई प्राप्त संविधान प्रदत्त अधिकार उपयोग गरी आफू मुख्यमन्त्री बनेको राजनीति कोर्सलाई पार्टीभित्रको आन्तरिक विद्रोहको रूपमा नबुझ्न आग्रह गरेका छन् ।
उनले संविधानको धारा १६८ ( ५ ) ले सुनिश्चित गरेको संवैधानिक व्यवस्थाअनुरुप आफू मुख्यमन्त्री बनेको स्पष्ट समेत पारे।

“ पार्टी भित्र विद्रोह गरेर म मुख्यमन्त्री बनेको होइन, संवैधानिक व्यवस्था अनुरुप नै बनेको हुँ ” उनले भने, “कांग्रेसका सांसद प्रतिपक्ष बनेर कुनामा बस्नु पर्ने परिस्थिति सिर्जना भएपछि संविधानको धारा १६८ ( ५ ) को सदुपयोग गरेर मुख्यमन्त्री बनेको हुँ, अन्यथा केही होइन ।”
दुई – दुई पटकको पहलमा पनि कांग्रेसको नेतृत्वमा कोशी प्रदेश सरकार नबन्ने अवस्था आएपछि आफू मुख्यमन्त्रीका लागि उभिएको उनको तर्क छ।
“ पार्टीको संस्थागत निर्णय पूर्णपालना हुनेछ, पार्टीको नीति, सिद्धान्त र विचार अनुकूल रहेर मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने म प्रतिबद्ध छु” उनले भने, “म मुख्यमन्त्री बन्नु पार्टीको हित र कोशी प्रदेशमा सम्मुख बनेको राजनीतिक संकट टर्नु हो।”
मुख्यमन्त्री कार्कीले जनताको अधिकतम् हितमा प्रदेशका योजना चयन गरेर बजेट बनाउने र सरकार सञ्चालन गर्ने जिकिर समेत गरे।

कांग्रेस कोशी प्रदेश समिति सभापति उद्धव थापाले कुनै पनि पार्टीले बहुमत प्राप्त गर्ने स्थिति नहुँदा कार्की राजनीतिक मैदानमा उत्रिएर सत्ताको नेतृत्वमा कांग्रेस फर्कनु र मुख्यमन्त्री प्राप्त गर्नु पार्टीका लागि गौरवपूर्ण क्षण भएको बताए । संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले प्रदेश सरकार आवश्यक छ भन्ने भावना जागृत हुने गरी काम गर्न कार्कीलाई सुझाए। कांग्रे्रेस झापा उपसभापति केशवराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईंले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्