झापा, कात्तिक १४ । नक्कली नम्बर प्लेट राखेर चलाएको कनकाई नगरपालिकाको नाममा दर्ता कायम रहेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

कनकाई नगरपालिकाको नाममा यातायात व्यवस्था कार्यालय बिर्तामोडमा दर्ता कायम रहेको मे १ ब ५९७ नम्बरको १२५ सीसीको टीभीएस कम्पनीको मोटरसाइकलमा मे १० प ३८८५ नम्बर राखेर प्रयोग गरिएको पाइएको थियो । सन् २०१८ मा निर्माण भएको सो मोटरसाइकल २०७५ जेठ २७ गते श्री अटो लि. सुरुङ्गाको नामबाट कनकाई नगरपालिकाको नाममा नामसारी भएको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ । कार्यालयका अनुसार नगरपालिकाको नाममा नामसारी भएपछि मोटरसाइकलमा मे १ ब ५९७ कायम गरिएको थियो । सो मोटरसाइकल जगदम्बा मोटर्स प्रालि काठमाण्डौले विरगञ्ज भन्सारबाट २०७५ साल बैशाख २८ गते इजाजत पत्र ६३६०९ मार्फत नेपाल भित्र्याएको थियो ।

श्री अटोको नाममा दर्ता हुँदा रहेको पुरानो मे १० प ३८८५ नम्बर राखेर कर्मचारीले सो मोटरसाइकल प्रयोग गरेको पाइएको छ । पुरानो नम्बर खारेज भइ नयाँ नम्बर कायम भइसकेपछि पुरानै नम्बर प्रयोग गरिनु गैरकानुनी हुने यातायात व्यवस्था कार्यालय बिर्तामोडका निमित्त कार्यालय प्रमुख पदम कट्टेलले जानकारी दिए । ‘नयाँ नम्बर कायम भइसकेपछि पुरानो नम्बर राख्नु भनेको नक्कली नम्बर प्रयोग गर्नु जस्तै हो,’ उनले भने, ‘त्यसो गर्नु कानुनी कार्य मानिँदैन ।’ उच्च पदस्थ कर्मचारीहरुको हकमा कार्यालयले निर्णय गरेर पठाए निजी नम्बर प्लेट कायम गर्न सकिने उनले बताए ।

एउटै गाडीमा दुई वटा नम्बर राखेर चलाउन नपाइने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए । नगर प्रमुखसँग पनि यस बिषयमा बुझ्ने काम भइरहेको भन्दै उनले कानुनअनुसार अघि बढ्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्