एजेन्सी । पाकिस्तानले विश्वकप २०२३ मा मंगलबार बंगलादेशलाई सजिलै ७ विकेटले पराजित गरेको छ ।

लगातार खराब प्रदर्शनपछि पाकिस्तान यो जितपछि उत्साहित हुनेछ । यो जितपछि पाकिस्तानको ६ अंक भएको छ र अफगानिस्तानलाई उछिनेर पाँचौं स्थानमा उक्लेको छ ।
लगातार चार हारपछि यो जित निस्केको हो । उसको सेमिफाइनल सम्भावना जीवन्त रह्यो । बंगलादेश भने २ अंकमै सीमित हुँदै नवौं स्थानमा रह्यो ।

हारले बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ५ रन पछ्याएको पाकिस्तानले ३२.३ ओभरमा ३ विकेट गुमाएर विजयी रन बनायो । त्यसमा अब्दुल्लाह सफिकले ६८ र फखर जमानले ८१ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि १ सय २८ रन बनाए । फखरले ७४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । यस्तै सफिकले ९ चौका र २ छक्का बनाए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । बंगलादेशका लागि लिप्टन दासले ४५, महमुदुल्लाहले ५६ तथा कप्तान साहिक अल हसनले ४३ रन बनाए । पाकिस्तानी बलरमध्ये साहिद अफ्रिदी र मोहम्मद वासिमले ३÷३ विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्