झापा,कात्तिक१५। नेपालको चारदिने औपचारिक भ्रमण गरी संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेस बुधबार बिहान फर्किएका छन् । उनलाई उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । आइतबार बिहान काठमाडौं आइपुगेका महासचिव गुटेरेसले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेस अध्यक्ष शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउद र उपप्रधान तथा रक्षामन्त्री खड्कालाई भेटेका थिए ।सोही दिन पाटन दरबार स्क्वारसमेत भ्रमण गरेका गुटेरेसलाई प्रधानमन्त्री दाहालले होटल सोल्टीमा रात्रिभोजसमेत दिएका थिए । महासचिव गुटेरेसले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गरे ।गुटेरेसले भ्रमणको क्रममा सगरमाथा क्षेत्र र अन्नपूणर् बेस क्याम्प पनि पुगे । उनले एक रात पोखरामा बिताए । उनी मंगलबार लुम्बिनी भ्रमणमा पनि गए । महासचिव गुटेरेसले मंगलबार बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गरे । उक्त अवसरमा उनले संक्रमणकालीन न्याय टुंग्याउन, जलवायु परिवर्तनको असर र विश्व शान्तिमा नेपालको योगदानको बारेमा मुख्य चर्चा गरे ।उनले सम्बोधनको अन्त्यमा भनेका थिए,‘मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन्- नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ । संयुक्त राष्ट्र संघले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि संघर्ष गर्न छाड्ने छैन ।’ नेपालमा सन् २००८ मा यूएनका तत्कालिन महासचिव वान कि मुन पछि महासचिव गुटेरेसले अहिले भ्रमण गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्