झापा, कात्तिक १७ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् ।केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा सबै पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश भक्तजनले पशुको बलि चढाउँथे । पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा दर्शनको याम मानिने (बडादसैँ, रामनवमी)का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे ।अहिले यो चलन क्रमशः घट्दै गएको छ । हिजोआज बिरलै मात्र पशु बलि दिने गरिएको छ । “पहिला यामका बेला दिनमै पाँच सयदेखि हजार-बाह्र सयसम्म पशु बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५-२० बलि चढाइन्छन्, यसको सट्टामा भक्तजनले नरिवल फुटाएर पूजाआजा गर्ने, फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ बलि चढाउँदा पशुपक्षीको रगतले रगताम्य हुने मन्दिर परिसर पछिल्लो समयमा सुन्दर र सफा देख्न सकिन्छ । रगतका कारण हुने फोहर र दुर्गन्धमा कमी हुनुका साथै मन्दिर वरपरको भाग सफा र सुन्दर भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्