एजेन्सी । रहमत शाह र हसमतुल्लाह साहिदको अर्धशतकको मद्दतले अफगानिस्तानले नेदरल्यान्ड्सलाई विश्वकप क्रिकेट–२०२३ मा सात विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको होडमा कायम राखेको छ । यो जितपछि अफगानिस्तानको सात खेलबाट ८ अंक भएको छ र पाँचौं स्थानमा उक्लेको छ ।

नेदरल्यान्ड्स भने ४ अंकमै सीमित रह्यो । जितका लागि १ सय ८० रनको लक्ष्य पाएको अफगानिस्तानले ३१.३ ओभरमा तीन विकेट गुमाएर १ सय ८१ रन बनायो । त्यसमा रहमतले ५४ बलमा ५२ रन बनाए । यस्तै हसमतुल्लाहले ६४ बलमा ५६ रन बनाए । त्यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले अपेक्षा गर्न रन बटुल्न सकेन ।

पूरा टिम ४६.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । सेब्रान्ड इगेलब्रेट्चले ८५ बलमा सर्वाधिक ५८ रन बनाए । उनले छ चौका प्रहार गरे । यस्तै म्याक ओ’डोउडले ४२ रनको योगदान दिए । नेदरल्यान्ड्सले एक समय एक विकेट गुमाएर ७३ रन बनाएको स्थितिबाट १ सय १३ रन बनाउँदासम्म छ विकेट गुमाएको थियो ।

अफगान बलरमध्ये मोहम्मद नाबीले तीन महत्वपूर्ण विकेट लिए । नूर अहमदले दुई विकेट प्राप्त गरे । शनिबार प्रतियोगिताका दुई खेल हुनेछन् । त्यसमध्ये पहिलो डे खेलमा न्युजिल्यान्डले बेंगलुरुमा पाकिस्तानको सामना गर्नेछ । अर्को डे नाइट खेलमा अस्ट्रेलिया र इंग्ल्यान्ड अहमदावादमा भिड्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्