झापा, कात्तिक १८ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन्। उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ। ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो। गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः१६ बजेमा ४.६ रेक्टर स्केल, १२ः३५ बजेमा ४.३ रेक्टर स्केल, १२ः२९ बजेमा ४.२ रेक्टर स्केल, १२ः०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन्। ४ रेक्टरभन्दा मुनिका भूकम्पका परकम्प गएपनि त्यसको रेकर्ड भने वेबसाइटमा सार्वजनिक छैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्