झापा, कात्तिक २० ।बहुआयामिक महत्वको बिर्तामोडको बुट्टावारीदेखि प्याकुरेल चोकसम्मको सडकको निर्माण कार्य तीब्र रुपमा भइरहेको छ ।

विश्व बैंकको लगानी ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँ (भ्याटसहित )मा आरपी–साप–समता जेभीले ठेक्का लिएको सो सडकको निर्माण कार्य हालसम्म साढे ६ प्रतिशत भएको निरन्तर अनुगमन गरिरहेका बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए ।

सो सडक ६.२५८ किलोमिटर लम्बाई , १२.५ मिटर चौडाई र २.२ मिटर फुटपाथ हुनेछ । पूर्व–पश्चिम राजमार्गलाई बिर्तामोड–भद्रपुर सडकसंग जोड्ने सो सडकको निर्माणबाट सहज आवागमनसंगै कृषि ,व्यवसाय ,पर्यटन क्षेत्रको विकास हुने र हात्ती नियन्त्रणमा पनि सघाउ पुग्ने उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए । सो सडकले बिर्तामोड ६ , ७ र ८ नं वडालाई जोड्ने भएको छ । बिर्तामोड नगरपालिकाको नगर गौरव आयोजनाअन्तर्गत रहेको नमूना सडक निर्माणलाई तीब्रता दिइएको हो। बिर्तामोड नगरपालिकाका उपप्रमुख संग्रौला र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहितको टोलीले सोमवार सडक निर्माणको अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेका अनुसार सडक निर्माणको काम हालसम्म साढे ६ प्रतिशत पुरा भइसकेको छ । शिलान्यास भएपछि वर्खायामबाहेक उक्त प्रतिशतमा काम भएको हो । अहिले सो सडक क्षेत्रमा ड्रेन तथा कल्भर्ट निर्माणको काम भइरहेको छ । न्यौपानेले सडक क्षेत्रमा सक्रिय ढंगबाटै काम भइरहेको जानकारी दिए। सो सडक २०८१ मंसिर १६ मा सम्पन्न गर्नुपर्नेछ ।

विश्व बैंकको लगानीमा ग्लोवल टेण्डर मार्फत ठेक्का पाएको आरपी–साप–समता जेभीले कामलाई धमाधम अघि बढाएको जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको सो कालोपत्रे सडकमा दुवैपट्टी सडकबत्ती, गार्डेन र फुटपाथ रहने छ । सडकखण्डमा ६२९ वडा सडक बत्ती राखिने छ भने दायाँ बायाँ १ हजार ३५० वटा बिरुवासमेत रोपिने छ । सडकमा २० वटा कल्भर्ट र ८० वटा जेव्राक्रस रहनेछन् । नगर उपप्रमुख संग्रौलाले सडक निर्माणको काम समयमै सम्पन्न गर्नुपर्ने बताए । उनले निर्माण व्यवसायीलाई कामलाई थप तीब्र बनाउन आग्रह गरे । उनले सडक निर्माणले सो क्षेत्रको जीवनलाई माथि उठाउन सहयोग गर्ने बताए ।

स्थानीयबासीले सडक निर्माण सुरु भएपछि खुशी व्यक्त गरेका छन् । उनीहरुले सडक निर्माणको क्रममा हुने संरचनागत अवरोधहरु समेत हटाएर सहयोग गरिरहेको निर्माण पक्षको भनाई छ । उक्त सडकको नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले गत जेठ २ गते शिलान्यास गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्