एजेन्सी । अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट–२०२३ को सेमिफाइनल यात्रा तय गरेको छ ।

पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य साहसले भरिएको २ सय १ रन बनाए । जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो ।

निश्चित हारको संघारमा रहेको अस्ट्रेलियाले यो जित निकालेको हो । म्याक्सवेल र कप्तान प्याट कमिन्सले इनिङ्स सम्हाल्नु अगाडि अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको दयनीय स्थितिमा थियो । त्यही स्थितिबाट म्याक्सवेलले विश्वकप इतिहासकै सबैभन्दा सनसनीपूर्ण इनिङ्स खेले ।

उनले कुल १ सय २८ बलको सामना गरे र त्यस क्रममा २१ चौका र १० छक्का प्रहार गरे । उनले कमिन्ससँग मिलेर आठौं विकेटका लागि २ सय २ रनको साझेदारी गरे । त्यसमा कमिन्सले १२ रन बनाए । यससँगै अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको छ । अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने तेस्रो टिम भएको छ ।

यसअघि भारत र दक्षिण अफ्रिकाले पनि प्रतियोगिताको अन्तिम चारको यात्रा तय गरिसकेका छन् । यो जितपछि अस्ट्रेलियाको आठ खेलबाट १२ अंक भएको छ र लिग तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तान भने ८ अंकमै सीमित रह्यो ।

त्यस अगाडि इब्राहिम जार्डनको शतकको मद्दतले अफगानिस्तानले पहिले ब्याटिङ गर्दै पाँच विकेटमा २ सय ९१ रन बनाएको थियो । ओपनरका रूपमा नटआउट रहेर २१ वर्षीय जार्डनले १ सय २९ रन बनाए । विश्वकपमा अफगानिस्तानका लागि यो पहिलो शतकीय प्रदर्शन हो । यस्तै विश्वकपमा यो अफगानिस्तानको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पनि हो । जार्डनले १ सय ४३ बलको इनिङ्समा आठ चौका र तीन छक्का प्रहार गरे । अफगानिस्तानका लागि अर्का नटआउट ब्याटर रसिद खानले १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र तीन छक्का आफ्नो नाममा लेखाए । जार्डनले प्रत्येक विकेटका लागि साथी ब्याटरसँग मिलेर महत्वपूर्ण साझेदारी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्