झापा, कात्तिक २२ । भगिनी सम्वन्ध स्थापित गर्न आएको जापानी टोलीलाई अर्जुनधारा नगरपालिकाले भव्य स्वागत गरेको छ ।

अर्जुनधारा नगरपालिकाको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिन बुधवार आइपुगेको जापानको टोलीलाई नगर प्रमुख बलदेवसिंह गोम्देन , उपप्रमुख खड्गमाया पराजुलीसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत सम्मान गरेका हुन् । जापानको इवाते प्रान्त, तोनो शहरका उपमेयर सोकी सुजुकी, उद्योग योजना विभाग मुख्य परीक्षक यासुहिको कुरौची सहितको टोलीलाई नगर प्रमुख गोम्देनले स्वागत सम्मान गर्दै भगिनी सम्बन्ध स्थापित गरी नगरभित्र उत्पादित कृषिजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याई कृषकको जीवनस्तर उकास्न आतुर रहेको बताए । अर्जुनधारा नगरपालिका र जापानको टोनो सिटी लातेबीच भगिनी सम्बन्ध स्थापित गर्न उक्त टोली अर्जुनधारा आएको जनाइएको छ ।

जापानको टोलीले नगर प्रमुख गोम्देन र जापानको टोनोसिटी लाते शहरका मेयरबीच जुम मिटिङसमेत गराएको थियो ।
टोलीले नगरको स्वास्थ्य, शिक्षा र कृषि सम्बन्धी अध्ययन तथा अवलोकन गरेर भगिनी सम्वन्ध विस्तारका लागि प्रक्रिया अगाडि बढाउने जनाइएको छ ।

जापानी टोलीले अर्जुनधारामा धान खेतीको अवलोकन गरेको छ । नगरपालिकाको ६० प्रतिशत लगानी रहेको अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लि. ले वडा नं. ४ मा धान विजवृद्धि कार्यक्रमअन्तर्गत गरेको खेती अवलोकन गरेको हो । नगर प्रमुख गोम्देन, उपप्रमुख पराजुली, सहकारीका अध्यक्ष प्रत्युस राना, स्थानीय किसानहरुले धानवारीको अवलोकन गराएका थिए ।टोलीलाई धानको विजवृद्धि कार्यक्रमबारे खेतवारीमै जानकारी गराइएको थियो । टोलीलाई नगर कृषि शाखा प्रमुख एन्जिला विडारीले सहजीकरण गरेकी थिइन् । उनले सहकारीमार्फत गरिएको सामूहिक खेतीबारे जानकारी दिदैं चुनौतिका बारेमा बताएकी थिइन् । उपमेयर सुजुकीले नेपाली किसानलाई प्राविधिक सीपका लागि सहयोग गर्ने बताए ।

व्यक्तिगत उत्पादन, सामूहिक व्यवस्थापन र संस्थागत बजारीकरण गर्ने उद्देश्यसहित स्थापना भएको सहकारीले विगत वर्षदेखि विभिन्न जातको धानको विज, गहुँ, मकै, तोरीलगायतका बीउ उत्पादन गर्दै आएको छ । अहिले ६० हेक्टरमा धानको बीउका लागि खेती गरिएको छ । जापानी टोलीले अर्जुनधाराको कृषि, उद्योग–पूर्वाधारलगायतका क्षेत्रको समेत निरीक्षण गरेको थियो । बिहीवार काठमाडौं फर्किने टोलीले अर्जुनधाराको टपरी, जुस उद्योगको समेत अवलोकन गरेको छ । बुधबार साँझ नगर क्षेत्रका युवाहरुसँग टोलीले जापानको बारेमा साक्षात्कार गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्