झापा, कात्तिक २३ । झापाको काँकडभिट्टामा स्रोत नखुलेको भारतीय रकमसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत ठानाचौक केबुल टोल बस्ने ६२ वर्षीय जैनुल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार मेचीनगर– ६ स्थित भन्सार गेटबाट पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीमाथि शंका लागेर प्रहरीले चेकजाँच गर्दा भारतीय रकम ५ सय दरको नोट ५ सय थान, २ सय दरको नोट २ सय थान र १ सय दरको नोट ३ सय थान गरी जम्मा ३ लाख २० हजार रुपैयाँ फेला परेको थियो । पक्राउ परेका उनलाई रकमसहित आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरी बुझाइसकेको प्रहरीले जनाएको छ ।

यता मेची पुलमा खटिएका सुरक्षाकर्मीले मंगलबार बेलुका ७ बजेको नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय रकमसहित दुई जनालाई पक्राउ परेका थिए । पक्राउ परेका दुई जनालाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएको थियो । उनीहरूको साथबाट स्रोत नखुलेको एक लाख भारतीय रकम फेला परेको थियो । तर, प्रहरीले उनीहरूलाई कुनै कारबाही नगरी बरामद गरिएको रकमसहित त्यतिकै छाडिदिएको घटना बाहिर आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्