एजेन्सी । न्युजिल्यान्डले विश्वकप क्रिकेट–२०२३ मा बिहीबार श्रीलंकालाई सजिलै पाँच विकेटले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

जितका लागि १ सय ७२ रनको लक्ष्य पाएको न्युजिल्यान्डले जवाफमा पाँच विकेट गुमाएर २३.२ ओभरमा विजयी रन बनायो । यो जितपछि न्युजिल्यान्डको नौ खेलबाट १० अंक भएको छ र उसको नेट रनरेटको स्थितिमा पनि ठूलो सुधार भएको छ । उसको पछाडि पाकिस्तान र अफगानिस्तानको समान ८ अंक छ । यी दुई टिमले न्युजिल्यान्डलाई उछिन्ने हो भने आ–आफ्नो खेलमा ठूलो अन्तरले जित्नु पर्नेछ । श्रीलंका भने ४ अंकमै सीमित रहेर नवौं स्थानमा रह्यो । न्युजिल्यान्डको जितमा डेवन कनवेले ४५, रचिन रविन्द्रले ४२ र ड्यारेल मिचेलले ४३ रन बनाए ।

त्यस अगाडि पहिले ब्याटिङ गरेको श्रीलंका २२.४ ओभरमा १ सय ६२ रन बनाएर अलआउट भएको थियो । ओपनर कुशल परेराले २८ बलमा बनाएको ५१ रन नै टिमका लागि सर्वाधिक ठूलो स्कोर रह्यो ।

पुछारका दुई ब्याटरमध्ये महेश थाकसनाले ३८ र दिल्सन मडुसन्काले १९ रन बनाए । उनीहरूले अन्तिम विकेटका लागि ४३ रनको साझेदारी गरे । न्युजिल्यान्डका बलरमध्ये ट्रेन्ट बोल्टले ३७ रन खर्चेर तीन विकेट लिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्