झापा,कात्तिक २६ । कुकुर तिहारको अवसरमा सीमा नाका काँकडभिट्टामा चेकजाँचमा खटाइएका दुईवटा तालिमप्राप्त कुकुरलाई आज पूजाआजा गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टामा आज बिहान जोजो र जुलेट नाम गरेका दुईवटा कुकुरलाई मिष्ठान्न खुवाएर , फूलमाला र अबिर लगाइदिएर पूजा गरिएको गुल्मका डीएसपी रोहित घिमिरेले बताए । ती कुकुरलाई गत असोज २७ गतेबाट चेकजाँचमा खटाइएको हो । जोजो नाम गरेका कुकर लागूऔषधको चेकिङ , जुलेट विष्फोटक पदार्थ र हातहतियारको चेकिङमा खटिने गरेको डीएसपी घिमिरेले जानकारी दिए ।

नेपाल प्रहरीले पनि सीमामा कुकुरसहितको चेकजाँच गर्ने गरेको थियो । नेपाल प्रहरीले चाडपर्वलाई लक्षित गरी गत असोज २४ गतेदेखि पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरेको थियो । सिमावर्ती क्षेत्रबाट हुन सक्ने लागूऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य आपराधिक गतिबिधि नियन्त्रणको लागि पारु र पिंकु नाम गरेका २ वटा तालिमप्राप्त कुकुरसहित प्रहरीले काँकडभिट्टा नाकामा चेकजाँच शुरु गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीले बताए । पछि तिनै दुईवटा कुकुरलाई कात्तिक ११ गतेदेखि भद्रपुर नाकामा ल्याइएको थियो ।अहिले ती दुवै कुकुरलाई संघीय प्रहरी कार्यालय धरान लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरिन्छ । सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ। मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान छ।

मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन्। सुँघ्नसक्ने उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ।
अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्