झापा, कात्तिक २६ । लामो समयदेखि झापाको सुरुङ्गामा सुनचाँदी व्यवसाय गर्दै आएका नवराज बिमली (हेमु) करोडौं रकम ठगी गरी बेपत्ता भएका छन् ।

सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल संचालन गर्दै आएका बिमली गत कात्तिक १० गतेदेखि पसल बन्द गरेर परिवारसहित बेपत्ता भएका हुन् । उनीबाट ठगिनेहरुमा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीदेखि कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लागाईसम्म रहेको बताइएको छ । जनप्रतिनिधि हुनुभन्दा अगाडिदेखि कारोबार गर्दै आएकाले आफूहरु ठगिएको उनीहरुको गुनासो छ । बिमलीबाट हालसम्म ७० हजारदेखि १ करोड १३ लाख रुपैयाँसम्म ठगिएको पीडितहरुले बताएका छन् ।

उनीहरु सबैजनाले आफूहरु ठगिएको भन्दै कनकाई नगरपालिका ३ को वडा कार्यालयमा निवेदन दिएका छन् । ठगीको विषयमा आफूकहाँ उजुरी नपरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । पीडितहरुले हेमु बिमली पीडित समिति गठन गरेर आन्दोलन सुरु गरेका छन् । झापा गाउँपालिका वडा नम्बर ६ का पूर्व जनप्रतिनिधि मोहन पोखरेलको संयोजकत्वमा २१ सदस्यीय खोजविन समिति गठन गरिएको हो । हालसम्म आधिकारिक रुपमा २७ करोड रुपैयाँको प्रमाणसहित बिमलीबाट ठगिएको भनेर पीडितहरु सम्पर्कमा आएको संयोजक पोखरेलले बताए । कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लागाईले बिमली दशैलगत्तै सम्पर्क बाहिर रहेकाले उनको खोजविनका लागि कानुनी उपचार खोजी गरिएको बताए ।

यसअघि सर्वसाधारण जनताका साढे २४ करोड बढी रकम ठगी गर्ने गौरादहका एक दम्पत्तीलाई पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ । गत साउन अन्तिममा गौरादह १ का सुन व्यवसायी सोमराज विश्वकर्मा र उनकी श्रीमती सुभद्रा विश्वकर्मा कारागार चलान भएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्