झापा, कात्तिक २७ । लक्ष्मीपूजाको आगो सल्किँदा मोरङको उर्लाबारीमा २७ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उर्लाबारी नगरपालिका ७ स्थित दिपक कार्कीको घरमा सञ्चालन गरिएको सुन पसलमा भएको आगो निभाउन जाँदा प्रहरी र सर्वसाधारण घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले दिएको जानकारी अनुसार अनुसार आगो निभाउने क्रममा २७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये केहीको विराटनगरको आर्या अस्पताल,केहीको बिर्तामोडको बीएण्डसी,केहीको उर्लाबारीको अरनिको र केहीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दासले जानकारी दिए ।

सुन पसलभित्र आगलागी भएपछि घटनास्थल पुगेका सुरक्षाकर्मी र स्थानीयले सटर खोल्दा आगोको मुस्लो उनीहरुमाथि पर्दा घाइते भएका थिए । केहीको अवस्था गम्भीर छ भने केही सामान्य घाइते भएका छन् ।

आधा दर्जन दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगो राति १२ बजे नियन्त्रणमा आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्