झापा, कात्तिक २७ । सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नीतिगत रूपमा आजैदेखि नेपालमा टिकटक बन्द भएको बताइन् । ‘नीतिगत रूपमा आजदैखि बन्द भयो । प्राविधिक रूपमा कति समय लाग्छ भन्ने कुरा हो । प्राविधिक रूपमा आवश्यक पर्ने व्यवस्था सञ्चार मन्त्रालयले मिलाउनेछ,’ सञ्चारमन्त्री शर्माले भनिन् ।

अभिव्यक्ति स्वतन्त्रता आधारभूत अधिकार भएपनि जसले जसलाई जे बोले पनि हुने प्रवृत्ति बढेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएकोमा अधिकांश टिकटकसँग सम्बन्धित भएको तथ्यांक छ ।

फेक एकाउन्ट खोलेर जसले जसलाई जे पनि गर्न सक्ने र बदनाम गराउने सामग्रीलाई स्वतः हटाउने कुनै संयन्त्र टिकटकमा छैन । केही देशले टिकटकलाई प्रतिबन्ध नै लगाएका छन् भने अमेरिका, फ्रान्ससहित ५० भन्दा बढी विकसित देशले यसको नियमनका लागि कदमहरू चालेका छन् ।

बच्चादेखि वृद्धवृद्धासम्म जुनसुकै उमेर र पेशाकाले सर्वाधिक प्रयोग गर्ने टिकटकले नेपालमा पनि मनोसामाजिक समस्या ल्याएको देखिएपछि गृह मन्त्रालय कुनै न कुनै हिसाबले टिकटकको नियमन गर्ने अवस्थामा पुगेको हो । साइबर ब्युरो, गृह मन्त्रालय र टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिबीच गत हप्ता पनि यस विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्