झापा, कात्तिक २७ । विवादास्पद अभिव्यक्ति र गतिविधि गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि प्रहरीले निगरानी बढाउँदै लगेको छ ।

आगामी मंसिर ७ गते राजधानीमा आन्दोलन गर्ने तयारी गरिरहेका बीएण्डसी हस्पिटलका संचालक प्रसाईका गतिविधिमाथि प्रहरीले निगरानी बढाएको हो । झापा जिल्लामा रहेर उनले गर्ने गरेका हरेक गतिविधिमाथि निगरानी भइरहेको प्रहरी स्रोतले जनाएको छ । केही दिनअघि उनले बिर्तामोडमा गरेको विरोध सभादेखि हिजो बीएण्डसी हस्पिटलमा लक्ष्मी माताको मूर्ति प्रतिस्थापनसम्मका गतिविधि प्रहरीले नियालिरहेको स्रोतको भनाई छ । ‘दुर्गा प्रसाईले गर्ने गतिविधिमाथि निगरानी राख्न माथिबाट आदेश छ ’ प्रहरी स्रोतले भन्यो ,‘ प्रसाईले बोल्ने बोलीमाथि पनि निगरानी गरिरहेका छौं ।’

झापाका संचारमाध्यमहरुले प्रसाईका कार्यक्रमलाई महत्व नदिई बहिष्कार गर्दै आएका छन् । उनी संचारमाध्यममा भन्दा युट्युवमा छाएका छन् । त्यही माध्यमबाट आफ्नो आन्दोलनको प्रचार गर्दै आएका छन् । प्रसाईले मंसिर ७ मा गर्ने भनिएको आन्दोलनको अनुमान पनि भइरहेको छ । उनका यसअघिका कार्यक्रमजस्तै सहभागिता रहने अड्कल गरिएको प्रहरी स्रोतको भनाई छ ।

प्रसाई नेतृत्वको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि साथ र समर्थन रहेको चर्चा हुने गरेको छ ।तर, पूर्व राजा शाह प्रसाईको मंसिर ७ को कार्यक्रममा उपस्थित नरहने जनाइएको छ । शाह मंसिर ९ गते झापाको कार्यक्रममा आउने भएका छन् । मंसिर ९ गते हुने उक्त कार्यक्रमको लागि पूर्वराजा दुई दिनअघि नै झापा आइपुग्ने बताईएको छ । झापाको कार्यक्रम भव्य बनाउनको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्मल निवासको निर्देशन रहेको बुझिएको छ ।

पूर्वराजाले प्रसाईलाई भन्दा बढी महत्व लिङ्देनलाई दिएको बताइन्छ । त्यसो त प्रसाईको कार्यक्रम बिथोल्न नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मंसिर ७ गते नै राजधानीमा कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्