एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमवार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् ।

योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपंक्तिको राजनीतिमा आएका छन् । ब्रेक्जिट जनमत संग्र्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा अघि क्यामरुन सन् २०१० देखि २०१६ सम्म बेलायतको प्रधानमन्त्री रहेका थिए ।

त्यसैगरी प्रधानमन्त्री सुनकले जेम्स क्लेभर्लीलाई गृहमन्त्रीमा नियुक्त गरेका छन् । क्लेभर्लीले सुएला ब्रेभरम्यानलाई गृहमन्त्रीको भूमिकाबाट विस्थापित गरेका हुन् । यसअघि उनी विदेशमन्त्री रहेका थिए । सत्ता सम्हालेको झन्डै १३ महिनापछि प्रधानमन्त्री सुनकको यो सबैभन्दा ठूलो फेरबदल हो ।

यसअघि उनले सोमवार विवादास्पद गृहमन्त्री सुएला ब्रेभरम्यानालाई बर्खास्त गरेका थिए । प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आमचुनावअघि आफ्नो शीर्ष टोलीमा फेरबदल गरेका हुन् । आलोचकहरूले ब्रेभरम्यानमाथि बेलायतमा प्यालेस्टिनी समर्थकको प्रदर्शन र प्रति–विरोधका हप्तामा तनाव बढाएको आरोप लगाएका थिए । यो आरोपसँगै स्पष्टवादी दक्षिणपन्थी नेता ब्रेभरम्यानलाई हटाउन प्रधानमन्त्री सुनकमाथि दबाब बढेको थियो ।

आफ्नो बर्खास्तपछि ब्रेभरम्यानले भने, ‘गृहमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो, आउँदा दिनमा मैले भन्नुपर्ने धेरै कुरा हुनेछन् ।’

सत्तारूढ कन्जरभेटिभहरूले सुनकबाट शीर्ष मन्त्रीहरूमा ठूलो फेरबदल हुँदैछ भन्ने पुष्टि गरेपछि मन्त्रिमण्डल पुनर्गठन भएको हो । सन् २०२२ अक्टोबरमा प्रधानमन्त्री बनेपछि सुनकको यो पहिलो पुनर्गठन हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्