झापा, कात्तिक २९ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरको बेचबिखनमा संलग्न झापा शिवसताक्षी नगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय दिपेन भन्ने विपिन चेम्जोङ पक्राउ परेका छन् ।

गत असोज ८ गते साँझ ५.१० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नं. ११ दुधे बजारमा रहेको साकिरा यातायात प्रा.लि. बस काउन्टरबाट चामलको बोराभित्र लुकाई छिपाई ९ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर काठमाण्डौ पठाउन लाग्दा वडा नं.१ बस्ने अन्दाजी २९ वर्षिय साजन राई र सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षिय सुन्दर लावती पक्राउ परेका थिए । ती प्रतिवादीहरुको बयानको आधारमा चेम्जोङ पक्राउ परेका हुन् । ब्राउनसुगर खरिद गर्न चेम्जोङले पैसा पठाईदिएको र काठमाण्डौमा उनलाई नै पठाउन लागेको उनीहरुले बयान दिएका थिए ।

झापा जिल्ला अदालतबाट अनुमति लिई आज दिउँसो २ बजेको समयमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा नं. ४ शान्तिपुरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । लागूऔषधको कारोवारमा संलग्न चेम्जोङलाई यसअघि लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाण्डौबाट २०७८ असार २७ गते लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता भई ५ वर्ष कैद र रु.५० हजार जरिवाना तोकिएको सीआरएस रेकर्डबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्