झापा, कात्तिक ३० । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजअन्तर्गत नेपाल लगातार दुई खेलमा पराजित भएको छ । बिहीबार दोस्रो खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो ।

ब्याटिङमा सर्वथा असफल भएको त्यस खेलसँगै नेपाल प्रतियोगिताको फाइनल समीकरणबाट बाहिरिएको छ । अब सिरिजको उपाधि भिडन्त आयोजक हङकङ र तान्जानियाबीच हुनेछ ।
नेपालले भने लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जापानको सामना गर्नेछ । त्यही दिन समूहको शीर्ष स्थानमा रहने टिमको निर्णयका लागि हङकङ र तान्जानियाबीच खेल हुनेछ । नेपालले आइतबार नै तेस्रो स्थानमा लागि फेरि जापानका लागि खेल्नेछ । आइतबार नै फाइनल रहेको छ । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले ९ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । हङकङका लागि नतासा मिल्सले १९ बलमा ४ चौकासहित २७ रन बनाइन् । उनी रनआउट भएकी थिइन् । त्यस्तै शान्जीन शहजादले २२ रन बनाइन् ।

त्यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५६ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २५ ओभर बनाउनुबाहेक अरु कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो विकेट ४ रनमा गुमाएको नेपालले थप ३ विकेट १ रन बनाउँदा गुमायो । ५ रन बनाउँदा नेपालले ४ विकेट गुमाइसकेको थियो । हङकङका लागि इक्रा सहरले ३ विकेट लिइन् । त्यस्तै रुचिथा वेंकटेसले २ विकेट लिँदा बेट्टी चान, मारिको हिल र केरी चेनले १÷१ विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । हङकङमा जारी सिरिजमा आयोजक हङङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आईसीसी वरीयतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै वरीयतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्