बिर्तामोड ,मंसिर २ ।बिर्तामोडको अधुवा खोलाबाट बिरिङ खोलामा छठ पूजा गर्न गएकाहरु विस्तारै पुरानै ठाउँमा फर्किन थालेका छन् ।

फोहोर सफा गरेर छठ पूजा आयोजना

विगतमा आ–आफ्नै किसिमले पूजा गर्ने गरेकोमा नेपाल मधेसी समाज सेवा समितिले सरसफाई गरी व्यवस्थित घाट निर्माण गरिदिएपछि भक्तालुहरु पुरानै ठाउँमा फर्किन थालेका हुन् । समितिले यस वर्ष बिर्ताबजारस्थित अधुवा खोलालाई सरसफाई गरी २०२ वटा स्टल बनाएको छ । खोलाको दुवैपट्टी १०१ वटाका दरले २०२ वटा स्टल(पण्डाल) निर्माण गरिएको मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । एउटा स्टलमा दुईवटा डाला राखिने छ ।

उनले बिर्ताबजारको अधुवा खोलाको बगरमा विगतमा छठ पूजा गर्ने करिव ५ प्रतिशत भक्तालुहरु बिरिङ गएकोमा सबैजना साविक ठाउँमै फर्किएको बताए । उनले समितिको आयोजनामा छठ पूजालाई व्यवस्थित बनाइएको जानकारी दिए । ‘ अधुवा खोलामा भइरहेको फोहोरका बारेमा हामीले नगर प्रमुख र वडाध्यक्षको ध्यानाकर्षण गराएका छौं ’ उनले भने,‘ अधुवा खोलाको फोहोर देखेर भाग्नु हुँदैन , सरसफाई गरी अधुवा खोलामै छठ पूजा गर्नु पर्छ ।’

तयारीबारे जानकारी दिँदै

समितिले शनिवार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको छ । छठ पूजाका कार्यक्रम संयोजक संजयकुमार शर्माले स्थानीय भक्तालुहरुले अबदेखि अधुवा खोलामै छठ पूजा गर्ने बताएपछि उनीहरुलाई एकत्रित गरिएको बताए । उनले आर्थिक रुपमा विपन्न भएकाहरुलाई निःशुल्क स्टल उपलव्ध गराइएको जानकारी दिए । समितिले प्रतिस्टल २५ सय रुपैयाँ तोकेको छ । कार्यक्रममा मधेसी समाज सेवा समितिका सदस्य दिलिप सिंहलगायतले छठ पूजाको महत्व र पूजाको तयारीबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्