झापा,मंसिर ७ । सामाजिक सञ्जाल प्लाटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउने विवादास्पद निणर्य गरेको सरकारले केही अन्य एप्समाथि पनि निगरानी थालेको र त्यसका लागि प्रधानमन्त्री कार्यालयमा विभिन्न क्षेत्रका विज्ञहरूको एक समूहले अध्ययन सुरु गरेको छ । प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ प्रकाश रायमाझीले बिगो, फ्रिफायर, पब्जी, टिन्डर, बम्बल, टानटान, लाइकी, स्न्यापच्याटजस्ता केही एप्लिकेसनलाई पनि केही समययता सरकारले निगरानीमा राखेको जनाए । ‘यी एप्समार्फत कुन स्तरको विकृति फैलिरहेको छ भनेर हामी अहिले अध्ययन, अनुसन्धानमा छौं, हाम्रो समाजिक परिवेश बाहिरबाट हेर्दा आवरणमा राम्रो देखिए पनि भित्र साह्रै बिग्रिसकेको रहेछ,’ रायमाझी भन्छन्, ‘टिकटक त अस्थायी रूपमा प्रतिबन्ध गरिएको हो, यसमा भएका विकृति नियमन गर्ने क्षमता अभिवृद्धि गरेपछि यसको प्रतिबन्ध खुल्छ । तर अन्य कतिपय एप स्थायी रूपमै बन्द गर्नुपर्ने खालका पायौं ।’ प्रारम्भिक अध्ययनमा ती एपमार्फत असामाजिक, अश्लील र वयस्क सामग्री सेयर हुने गरेको र तिनको नियमन प्रक्रिया अत्यन्तै जटिल रहेको उनको दाबी छ । प्रधानमन्त्री कार्यालयमा करिब १५ जनाको विज्ञ समूहले यस विषयमा मिहिन अध्ययन गरिरहेको रायमाझीले उल्लेख गरे । केही दिनमा अध्ययन प्रतिवदेन तयार भएपछि सार्वजनिकसमेत गरिने र बिगो, लाइकीजस्ता एपबाट हाम्रो समाजमा कस्तो किसिमको प्रभाव पार्दै आएको छ भन्नेबारे थप प्रस्ट हुने उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्