झापा,मंसिर ८ । ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका सुवेदी मर्स्याङ्दी ट्राभल्सका म्यानेजर समेत हुन् । उनले काठमाडौंको बालुवाटारमा रहेको जियोल्याण्ड ट्राभल्स एण्ड टुर्स प्रालिको युजर आइडी पोर्टल ह्याक गरेको एसपी अधिकारीले बताए । कात्तिक १८ गतेदेखि मंसिर २ गतेभित्र उनले उक्त पोर्टलमार्फत जजिरा एयरलाइन्स र एयर अरबियाको ३३७ जना विभिन्न व्यक्तिहरूको नाममा टिकट बनाएका थिए । एक करोड ९९ लाख ८२ हजार ९२४ बराबरको हवाई टिकट काटेर उक्त टिकट बराबरको रकम यात्रीहरूबाट लिएर जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सलाई ठगी गरेको प्रहरीले जनाएको छ । यसरी ठगी भएको भन्दै ब्युरोमा उजुरी परेपछि प्रहरीले सुवेदीलाई पक्राउ गरेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्