झापा,मंसिर ८ । राजधानीमा राजतन्त्रको लागि सडक आन्दोलन गर्नेक्रममा दुर्गा प्रसाई नजरबन्दमा परिरहँदा पूर्व राजा ज्ञानेन्द्र शाह भने राजधानी छोडेर झापा आइपुगेका छन् ।

आफूलाई कट्टर राजावादी भनाउने प्रसाईको आन्दोलनप्रति त्यति धेरै चासो नराखेका शाह राप्रपाको कार्यक्रममा सहभागी हुन झापा आइपुगेका हुन् । झापाको कार्यक्रम भव्य बनाउनको लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई निर्मल निवासको निर्देशन रहेको बुझिएको छ ।पूर्वराजाले प्रसाईलाई भन्दा बढी महत्व लिङ्देनलाई दिएको बताइन्छ ।

पूर्व राजा शाह बिर्तामोडमा सालिक अनावरण गर्न आएका हुन् । कार्यक्रमलाई सफल बनाउन राप्रपा अध्यक्ष लिङ्देन करिब १० दिनदेखि झापामा छन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा ज्ञानेन्द्र शाह आज अपराह्न झापा आइपुगेका हुन्। बिर्तामोडको इकोम कलेजमा पृथ्वीनारायण शाहको सालिक उनले अनावरण गर्ने कार्यक्रम छ ।

भद्रपुर विमानस्थलमा अवतरण हुँदा ठूलो संख्यामा राजतन्त्र पक्षधरहरुले उनको स्वागत गरेका थिए । पूर्वराजा शाह आज राति धुलाबारीस्थित होटल मेची क्राउनमा बस्ने कार्यक्रम छ। भोलि धुलाबारीस्थित निम्जा खोलाबाट उनको स्वागत र्याली शुरु हुनेछ । पूर्वराजा शाहसहितको र्यालीलाई करिब ८ हजार मोटरसाइकलले स्कर्टिङ गर्ने राप्रपाले दावी गरेको छ ।

स्थानीय आयोजकका अनुसार पूर्वराजा शाहले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसंग भेट गर्ने समेत कार्यक्रम छ । कार्यक्रममा हजारौको सहभागिता रहने आयोजकले दाबी गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्