झापा, मंसिर ८ । झापामा केही दिनदेखि आगलागीका घटना बढेको छ । चाडपर्व शुरु भएदेखि भइरहेको आगलागीबाट जनधनको क्षति भएको छ । यसक्रममा शुक्रवार मात्र झापाको तीन ठाउँमा आगलागी भएको छ ।

हल्दिबारी गाउँपालिका वडा नं १ मा आगलागी हुँदा रोशन सावाँ लिम्बू र फुलमाया तामाङको दुईवटा घर जलेर पूर्ण रूपले नष्ट भएका छन् । दिउँसो करिब २ बजेको समयमा घरमा कोही नभएको बेला भएको आगलागीबाट घरको सबै सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी साँवाको घरबाट सल्किएकोले उनको घरको सबै सामान जलेर खरानी भएको छ भने तामाङको घरबाट केही खाद्यान्न र लत्ताकपडा स्थानीयले बाहिर निकाल्न सफल भएका छन् ।
दुवै परिवारको लगभग २ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागीलाई भद्रपुर नगरपालिकाको दमकल, जनप्रतिनिधिहरू,स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट पीडित दुवै परिवारलाई तत्कालका लागि हल्दिबारी गाउँपालिकाको तर्फबाट राहत वितरण गर्न गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, वडाध्यक्ष देवीबहादुर थापा,वडा सदस्यहरू प्रकाश कार्की र कुलबहादुर राई पुगेका थिए।पीडितलाई आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष लिङ्देनले बताए।

त्यस्तै शुक्रवार बिहान मेचीनगर ११ धाइजनमा रहेको रबर उद्योगमा आगलागी भएको छ ।
बिहान ९ः३० बजेको समयमा जिल्ला धाईजन बस्ने शान्तिराम चिमरियाले संचालन गरेको धाईजन पशुपालन तथा रबर उद्योग प्रा.लि.मा रबर सुकाउने क्रममा रबर सुकाउने भट्टीबाट अचानक आगलागी भएको हो । आगलागीबाट रबर, रबर बनाउने मेसिन, १५० मन धान पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी चारआलीबाट खटिएको टोली, मेचीनगर नगरपालिकाको दमकल र स्थानीयबासीको सहयोगमा बिहान ११ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै शुक्रवार बिहान गौरादहमा भएको आगलागीमा परी चौपाया जलेर मरेको छ ।
बिहान ६ः५० बजेको समयमा गौरादह २ बस्ने मुक्तिप्रसाद मिश्रको ईटाको वाल र टिनको छानो भएको गोठमा खोले पकाउने क्रममा अचानक आगलागी भएको हो । आगलागीबाट एउटा गाई जलेर घाइते भएको छ भने एउटा बाछी जलेर मरेको छ । गोठको काठपातसमेत जलेर नष्ट हुँदा आगलागीबाट अन्दाजी १ लाख ६० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो गौरादहको नगरपालिकाको दमकल , कमल गाउँपालिकाको दमकल, इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको टोली र स्थानीय मानिसको सहयोगमा बिहान ७ः५० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्